रवि र बालेनबीच सात बुँदे सहमति, पार्टीको अस्तित्व जोगाउने अडानमा कुलमान एक्लिए
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सहमति भए पनि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ भने उक्त सहमतिबाट बाहिरिएका छन् ।
पछिल्लो समय रास्वपा र बालेन शाह दुवैसँग निरन्तर संवादमा रहेका घिसिङले आफ्नो पार्टीको अस्तित्व समाप्त हुने गरी एकता नगर्ने अडान लिँदै आएका थिए । नयाँ राजनीतिक शक्तिहरूले सबैको पहिचान र अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो ।
एकतापछि कायम हुने पार्टीको नाम तथा जिम्मेवारी बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै घिसिङ सहमति प्रक्रियामा सहभागी नभएको बताइएको छ ।
यद्यपि रास्वपा र बालेन शाह पक्षका नेताहरूले कुलमान घिसिङसँग भविष्यमा पनि एकताको सम्भावना खुला रहेको दाबी गरेका छन् ।
रवि लामिछाने र बालेन शाहबीच भएको सहमतिपत्रमा ‘अन्य परिवर्तनकर्मी र सुसंस्कृत राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई सहकार्यका लागि आव्हान गर्ने’ उल्लेख छ । यही बुँदाको आधारमा घिसिङलगायत अन्य नेतासँग एकताको प्रयास जारी रहने उनीहरूको भनाइ छ ।