अव पार्टी काममा केन्द्रित हुनेछु-एमाले महासचिव ईश्वर पोखरेल



काठमाडौं जेठ २३।

पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब पार्टीको काममा सक्रिय हुने बताउनु भएको छ ।  सामाजिक संजालमा  आर्थिक विवरण सार्वजनिक गर्दै अब पार्टीको महासचिव भएर पुन: सक्रिय  भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको बताउनु भएको छ  ।

तिन  वर्ष ३ महिना ७ दिन ओलीको नेतृत्वमा सरकारमा रहेका पोखरेलले त्यसक्रममा सरकारको औपचारिक निर्णय अनुसार सात महिनाको पारिश्रमिक ४,५६, ४००।- कोभिड कोषमा बुझाएको र पार्टीको कोषमा ६,०५,०००।- बुझाएको पनि जानकारी दिनु भएको छ ।

यस्ताे छ पाेखरेलको भनाइ

सबैप्रति हार्दिक आभार !

म २०७४ फागुन १४ गतेदेखि २०७७ असोज २८ गतेसम्म (२ वर्ष ७ महिना १४ दिन ) नेपाल सरकारको रक्षा मन्त्री र तत्पश्चात २०७८ जेठ २१ गतेसम्म (७ महिना २३ दिन ) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने जिम्मेवारीमा रहें । शुरूमा अर्थात् २०७४ फागुन १४ गतेदेखि २०७५ जेठ १७ गतेसम्म रक्षा मन्त्रीको रूपमा र त्यसपछि उपप्रधानमन्त्रीको हैसियतले रक्षा मन्त्रीका रूपमा जम्मा ३ वर्ष ३ महिना ७ दिन म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा रहें । यस अवधिलाई मैले मेरो राजनीतिक र सामाजिक जीवनको महत्वपूर्ण समयावधिका रूपमा लिएको छु । यस अवधिमा मलाई आफ्नो जिम्मेवारी पुरा गर्न सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गदर्शन गरिरहनु भयो । मन्त्री साथीहरूले निरन्तर सहकार्यका लागि सहृदयता प्रदर्शन गरिरहनु भयो । नेपाल सरकारका मुख्य सचिव, नेपाली सेनाका प्रधान सेनापति लगायत सकल दर्जाका साथीहरू,  मन्त्रालयका सचिवजीहरू तथा अन्य सम्पूर्ण कर्मचारी साथीहरूले गर्नुभएको सहयोगलाई म कहिल्यै विर्सन सक्तिन । मलाई समर्थन गर्नुहुने/ माया गर्नुहुने आम जनता खासगरी निर्वाचन क्षेत्रका मतदाताहरूले सद्भाव र समर्थन जनाइरहनु भयो । उहाँहरूले गर्नुभएको सहयोग र सद्भावलाई म कहिल्यै विर्सने छैन । उहाँहरू सबैप्रति म कृतकृतज्ञ छु ।

यसबीच सरकारमा रहेकाबेला मबाट र मेरो नेतृत्वमा भएका सबै कामहरू सम्वन्धित ठाउँमा  औपचारिक अभिलेखहरूमा सुरक्षित रहेका छन् । तिनले आजमात्र नभएर आवश्यक पर्दा पछि पछिसम्म पनि सबैलाई यथार्थ बताइरहने कुरामा मैले विश्वास लिएको छु ।  यसबीच कोभिड संक्रमणको महामारीका समयमा मैले “उच्चस्तरीय समन्वय समिति” र “कोभिड १९ संकट व्यवस्थापन केन्द्र” मा संयोजकका हिसावले भूमिका खेल्ने काम गरें । त्यसबेलाको जटिलतासित गाँसिएर उठेका/ उठाइएका कुराहरूलाई म कहिल्यै बिर्सन सक्तिन । यसबीच मैले कोभिड संक्रमितहरूको उपचारका लागि सरकारको औपचारिक निर्णय अनुसार सात महिनाको पारिश्रमिक ४,५६, ४००।- कोभिड कोषमा बुझाएको छु ।  सुविधा प्राप्त गरेवापत राज्यलाई बुझाउनु पर्ने सबै किसिमका दायित्वहरू पुरा गरेको छु ।  मन्त्री हुँदा प्राप्त सबै सेवा सुविधाहरू सम्वन्धित ठाउँमा आइतवार (२३ गते जेठमा) बुझाइसकेको छु ।   यस अवधिमा मैले मेरो प्रिय पार्टीको कोषमा ६,०५,०००।- बुझाएको छु । पुल्चोकस्थित मन्त्री क्वार्टर २२ गते शनिवार नै खाली गरिसकेको छु ।

साथीहरू सबैलाई थाहा छ- म नेकपा ( एमाले) को महाधिवेशनबाट निर्वाचित महासचिव – तर  “महान र ऐतिहासिक” भनिएको एमाले- माओवादी केन्द्रबीच सम्पन्न एकतापछि म महासचिवको  जिम्मेवारीमा  रहिन ! तर २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले- माओवादी पार्टीहरूको पूर्व स्थिति कायम रहन पुगेका कारण म  पुन:  एमालेको महासचिव रहन पुगेको छु ।  यो अवस्थामा मैले बुझेको छु – म पार्टीको महासचिव भएर पुन: भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको छ ।  पार्टीका आदरणीय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसित यस सम्वन्धमा कुराहरू भएका छन् । उहाँले मलाई परिस्थितिको गम्भीरता बारे बताउँदै आउनुभएको पनि छ र  मैले उहाँको अन्तरआशयलाई राम्ररी बुझ्ने प्रयत्न पनि गर्दै आएको छु।

अहिले कतिपयले भन्ने गरेजस्तो “सबैतिर छ पार्टी – तर कहिं पनि छैन पार्टी” जस्तो अवस्थालाई बदल्नुपर्ने चुनौती छ । र, यो बदल्ने अभियान संचालन गर्ने संस्थाको महासचिव भएर मैले भूमिका खेल्नुपर्ने छ । दुर्भाग्य नै हो – यतिवेला पार्टीभित्रको  एकतामा पनि संकट देखापरेको छ । यसबाट पार्टीलाई जोगाउनुपर्ने आवश्यकता छ ।  चुनौतीहरू थुप्रै किसिमका छन् । राष्ट्रिय राजनीतिमा अस्थिरताका झन्झावातका आशंकाले मानिसहरूमा त्रास सृजना गराउन खोजिदैछ । आर्थिक विकास र सम्वृद्धिको अभियानलाई कमजोर पार्ने , राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयलाई कमजोर बनाउने, मुलुकलाई अराकता र अस्तव्यस्ततातर्फ धकेल्ने, सामाजिक सद्भावलाई विथोल्ने आदि दुस्प्रयत्नहरू हुँदैछन् र ती प्रवृत्तिलाई प्रश्रय दिन भित्र/बाहिरबाट प्रयत्न भइरहेको कुरालाई बुझ्न सकिन्छ ।  यस्तोबेलामा सिंगो राष्ट्रले/आम नेपाली जनताले नेकपा (एमाले)प्रति – सुदृढ र जनआधारित नेकपा (एमाले)प्रति आशा गरेको कुरालाई बुझ्न सकिन्छ । यो आवश्यकतालाई पुरा गर्ने चुनौतीपूर्ण उद्देश्यद्वारा निर्देशित हुनुपर्ने  छ । यसका लागि पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक मित्रहरूलाई  गोलवन्द हुन हार्दिक अनुरोध गर्दछु ।

– ईश्वर पोखरेल

२०७८ जेठ २३

६ महिनामा ज्यान मुद्दाका ४ सय अभियुक्त समातिए

काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना

सावित्राले च्याम्पिनयसिप फाइनल नखेल्ने

काठमाडौँ, साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल

घर आगलागी हुदा रोल्पामा एक वृद्धाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका-५ भावाङमा घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको

टेरामक्स र वाइडबडी काण्डकाे अनुसन्धान अन्तिम चरणमा पुगेकाे छ : अख्तियार प्रमुख

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले टेरामक्स काण्डको अध्ययन-अनुसन्धान

 सामाजिक सञ्जालमा हामी