लामो समय नास्तिक मानिएका एलन मक्स भन्छन , ‘सृष्टिको पछाडी कुनै शक्ति छ ‘
टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत तथा विश्वका चर्चित अर्बपति एलन मस्कले सृष्टि र ईश्वरसम्बन्धी आफ्नो धारणा सार्वजनिक गर्दै ब्रह्माण्डको उत्पत्तिको पछाडि कुनै न कुनै शक्ति रहेको विश्वास व्यक्त गरेका छन्। लामो समयसम्म आफूलाई नास्तिक वा अज्ञेयवादी मानिँदै आएका मस्कको यो अभिव्यक्तिले अन्तर्राष्ट्रिय स्तरमा चर्चा र बहस सुरु भएको छ।
डिसेम्बर ९, २०२५ मा प्रसारित द केटी मिलर पोडकास्ट मा सहभागी हुँदै मस्कले भगवान् र सृष्टिको उत्पत्तिबारे खुलेर बोलेका हुन्। पोडकास्टकी होस्ट केटी मिलरले “तपाईं सबैभन्दा धेरै कसलाई आदर्श मान्नुहुन्छ?” भन्ने प्रश्न गर्दा मस्कले छोटो जवाफ दिए—
“सृष्टिकर्ता (The Creator)”।
त्यसपछि मिलरले मस्कको “भगवान् सम्बन्धी वर्तमान धारणा” के हो भनेर सोध्दा उनले भने,
“भगवान् भनेको सृष्टिकर्ता हो।”
सार्वजनिक धारणा आफू भगवान्मा विश्वास नगर्ने व्यक्ति भनेर बनेको सन्दर्भ उठाउँदा मस्कले प्रतिक्रिया दिँदै भने,
“म यो ब्रह्माण्ड कुनै न कुनै चीजबाट आएको हो भन्नेमा विश्वास गर्छु। मानिसहरूले त्यसलाई फरक–फरक नाम दिन्छन्।”
विश्लेषकहरूका अनुसार मस्कको यो भनाइ कुनै संगठित धर्मसँग जोडिएको होइन, बरु सृष्टिको पछाडि कुनै उच्च शक्ति रहेको स्वीकार गर्ने डिइज्म (Deism) धारासँग मेल खान्छ। यसअघि मस्कले आफूलाई “सांस्कृतिक क्रिश्चियन” भनेका थिए र येशू ख्रीष्टका नैतिक शिक्षाप्रति सम्मान व्यक्त गरे पनि परम्परागत धार्मिक मान्यताप्रति सधैं सन्देह राख्दै आएका थिए।
एआई, सरकारी कार्यक्षमता (DOGE), प्रविधिको भविष्य र मानव सभ्यताको दीर्घकालीन दिशाबारे भएको विस्तृत छलफलका क्रममा आएको यो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेको छ। डेली मेल, टाइम्स अफ इन्डिया, द क्रिश्चियन पोस्ट लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले मस्कको यो धारणा प्रमुख समाचारका रूपमा प्रकाशित गरेका छन्।
कतिपयले यसलाई एलन मस्कको आध्यात्मिक सोचमा आएको परिवर्तनका रूपमा व्याख्या गरेका छन् भने अन्यले यसलाई उनको विज्ञान र भौतिकशास्त्रमा आधारित दार्शनिक दृष्टिकोणकै निरन्तरता मानेका छन्।
एलन मस्कको यस भनाइले अहिले विज्ञान, धर्म र दर्शनबीचको सम्बन्धबारे नयाँ बहसलाई जन्म दिएको छ।