डाक्टर बन्ने सपना !



 काठमाडौं : हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी चोकबाट करिब तीन किलोमिटर उत्तर–पूर्वमा पर्ने श्रीपुर गाउँको एउटा सानो छाप्रोमा २१ वर्षीय सत्यनारायण साफीले ठूलो सपना देखेका थिए—डाक्टर बन्ने सपना। आज त्यही सपनाले आकार लिँदै गर्दा उनी मधेसी दलित आरक्षण कोटाबाट पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि छनोट हुन सफल भएका छन्।
दैनिक ज्यालामजदुरी गरेर जीवन चलाउने परिवारका सत्यनारायणको सफलता यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। उनी दलित कोटाबाट एमबिबिएसमा नाम निकाल्ने पहिलो व्यक्ति होइनन्, तर संघर्ष, धैर्य र आत्मनिर्भर तयारीको कथा भने उनलाई विशेष बनाउँछ।
जनता माध्यमिक विद्यालय (प्राविधिक धार) बरियारपट्टीबाट २०७७ मा एसइई उत्तीर्ण गरेका सत्यनारायणले विराटनगरस्थित अरनिको उच्च माध्यमिक विद्यालयबाट २०७९ मा विज्ञान संकायमा कक्षा ११–१२ पूरा गरे। त्यसपछि एमबिबिएस प्रवेश परीक्षाको तयारी गर्न काठमाडौं पुगेका उनी भाइब्रेन्ट कोचिङ सेन्टरमा भर्ना भए। तर आर्थिक अभावले तीन महिना नबित्दै कोचिङ र काठमाडौं दुवै छाड्नुपर्यो।
त्यही समयमा वैदेशिक रोजगारीमा कतार रहेका उनका बुवा मधुरी साफी पनि बेरोजगार भएर घर फर्किए। घरखर्च धान्नै कठिन भएपछि सत्यनारायणले ‘मजदुरी कि पढाइ?’ भन्ने कठिन मोडमा निर्णय गरे—दुवै गर्ने। दिनभर मजदुरी, रातभर अध्ययन। मजदुरीबाट जोगिएको पैसाले किताब किन्थे र त्यसैको सहारामा घरमै बसेर एमबिबिएसको तयारी गरे।
दुई वर्षसम्म निरन्तर मजदुरी गर्दै स्वाध्ययन गरेका सत्यनारायणले काठमाडौं पुगेर एमबिबिएस प्रवेश परीक्षा दिए र पहिलो प्रयासमै पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए। उनको कोठामा किताबहरू ओछ्यान र तकियाजस्तै बनेका छन्, जसले उनको संघर्षलाई बोलिरहेजस्तो देखिन्छ।
डाक्टर बन्ने सपना उनको आमाको स्वास्थ्य समस्याबाट जन्मिएको हो। आमालाई बारम्बार टाउको दुख्ने समस्या हुँदा अस्पताल–अस्पताल धाउँदा सत्यनारायणले त्यहीँ प्रण गरेका थिए—‘म डाक्टर बन्छु।’ त्यतिबेला एमबिबिएस के हो भन्ने थाहा नहुँदा पनि अठोट बलियो थियो।
यद्यपि पूर्ण छात्रवृत्तिमा नाम निस्किए पनि चुनौती अझै बाँकी छ। पढाइ शुल्क बाहेक आवास, खानपान, यातायात र अध्ययन सामग्रीमा ठूलो खर्च लाग्ने भएकाले परिवार चिन्तामा छ। साढे चार धुर घडेरी र पाँच कट्ठा बन्जर जमिनबाहेक परिवारसँग अन्य सम्पत्ति छैन। आमाले छिमेकीसँग ऋण लिएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा छोराको नामांकन गराइसकेकी छन्।
सत्यनारायणका बुबा मधुरी साफी सरकारसँग सहयोगको अपेक्षा राख्छन्। आमा सुनिता साफी छोराको सफलतामा गर्व त छ, तर पढाइ कसरी पूरा गर्ने भन्ने चिन्ताले रातभर निद्रा लाग्दैन भन्छिन्।
तर सबै कठिनाइका बीच सत्यनारायणको आत्मविश्वास भने अडिग छ। उनी भन्छन्, “राज्य र मनकारी महानुभावबाट सहयोग पाउने विश्वास छ। म आफैं मेहनत गरेर डाक्टर बन्छु।”
उनको सफलताले गाउँभरि खुसी छाएको छ। सामाजिक अभियन्ता सन्तोष यादवका अनुसार सत्यनारायणको कथा विपन्न र सीमान्तकृत समुदायका युवाहरूका लागि प्रेरणा बनेको छ। उनी भन्छन्, “यो केवल सत्यनारायणको सपना होइन, यस भेगका सयौं जेहेनदार युवाहरूको आशा हो।”
आरक्षणको संवैधानिक व्यवस्थाले मधेसी दलितजस्ता सीमान्तकृत समुदायलाई शिक्षा र अवसरको ढोका खोलेको सत्यनारायणको सफलताले पुष्टि गरेको छ। झुपडीबाट मेडिकल शिक्षासम्मको उनको यात्रा मेहनत, धैर्य र दृढ इच्छाशक्तिको जिउँदो उदाहरण बनेको छ।
नक्कली सुन दिएर पाँच लाख रुपैयाँ ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं : नक्कली सुन दिएर पाँच लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ

CF 98 पेस्तोल थान २ सहित ३ जना नियन्त्रणमा

काठमाडौं : मिति २०८२/०९/१० गते हतियार लुकाई छिपाई राखिएको भन्ने सूचनाको आधारमा जिल्ला

बालेनसँगै राजु पाण्डेको राजीनामा,एकछिनमा फुली

काठमाडौंका मेयर बालेन्द्र (बालेन) साहसँगै महानगरीय सुरक्षा बलका प्रमुख राजु पाण्डे पनि साँसदको 

टोखा–९ गोंगबु मंगलटोलबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

काठमाडौं : टोखा नगरपालिका वडा नं. ९ अन्तर्गत गोंगबु मंगलटोलस्थित एक घरबाट लागू

 सामाजिक सञ्जालमा हामी