बालेनसँगै राजु पाण्डेको राजीनामा,एकछिनमा फुली
काठमाडौंका मेयर बालेन्द्र (बालेन) साहसँगै महानगरीय सुरक्षा बलका प्रमुख राजु पाण्डे पनि साँसदको चुनाव उठ्ने तयारीमा छन् । रवि लामिछाने र रास्वपाद्वारा आगामी प्रधानमन्त्री भन्दै अगाडि सारिएका बालेन काठमाडौंको कुनै एउटा निर्वाचन क्षेत्रबाट उठ्ने छन् भने पाण्डेले निर्वाचन क्षेत्र तय गरिनसकेको स्रोतले बतायो ।
उता भरतपुर महानगरकी मेयर रेणु दाहाल पनि दुई कार्यकाल पूरा भएकाले चितवनबाट सांसदको चुनाव लड्ने सुरसार हुँदैछ । संविधानले स्थानीय तहका जनप्रतिनिधिलाई एकै पदमा दुई कार्यकालभन्दा बढी बस्न अवसर दिएको छैन । आगामी फागुन २१ गतेलाई तोकिएको कार्यतालिकाअनुसार माघ दोस्रो साता उम्मेदवारी दिनुपर्ने छ ।
स्थानीय जनप्रतिनिधिले माननीय बन्न उम्मेदवारी दिएलगत्तै उनीहरु जिम्मेवारीबाट मुक्त हुनेछन् । त्यस्तो अवस्थामा अन्तिम घडी निर्वाचन नहुने अवस्था सिर्जना भैदियो भने उनीहरुको राजीनामा बेकार हुने निश्चित छ । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल अब १६ महिना बाँकी छ । त्यसैले अन्तिम समयमा चुनाव हुन नसक्दा बालेन र रेणुलगायतले सम्हालिआएको जिम्मेवारी उपमेयरहरुले कार्यवाहकका हैसियतमा पूरा गर्नेछन् ।
त्यस्तो अवस्थामा बालेनका हकमा रविले अफर गरेको ‘उधारो प्रधानमन्त्री’ को झिनो आशा पनि भुस हुनेछ ।
चुनावमा उठ्ने चर्चासङ्गै बालेनका घनिष्ठ सुरक्षा प्रमुख राजु पाण्डेको फुली काण्ड फेरि चर्चामा आएको छ । तीन वर्षअघि बालेनकै पहलमा कार्यपालिका बैठकले उनलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायम मुकायमको जिम्मेवारी दिएको थियो तर ६ महिनाभन्दा बढी कामु हुन नपाउने कानुनी व्यवस्था छ । पदबाट राजीनामा नदिई चुनावमा उठे मुध्दा लागेर उम्मेदवारी खारेज हुने र यतिन्जेल खाइपाइ आएको सुविधा बेरुजु निस्कने खतरा पनि उत्तिकै छ । बालेनले महानगर छाडेपछि पनि सुरक्षा बिभागमै रहिरहन त झन सम्भवै छैन ।
त्यसैले ‘सुविधा एकमुष्ठ लिएर पाण्डे छिट्टै राजीनामा दिने मुडमा देखिन्छन्,’ स्रोतले भन्यो ।
काठमाडौंका मेयर बालेन्द्र (बालेन) साहसँगै महानगरीय सुरक्षा बलका प्रमुख राजु पाण्डे पनि साँसदको चुनाव उठ्ने तयारीमा छन् ।
अर्कोतर्फ,आज महानगरमा इन्सपेक्टरबाट बढुवा भएका ७ जनालाई डिएसपीको फुली लगाइँदै छ । तीन वर्षदेखि असइ र इन्सपेक्टरको तलब खाइरहेकामध्ये केहीलाई शनिबार जङ्गी अड्डाको नगरसभाबाट बढुवा गरिएको थियो । डिएसपीको फुली लगाए पनि असईहरुले भने फुली लगाउने कार्यक्रम छैन । जबकि उच्च अदालत,पाटनले उनीहरुलाई फुली लगाइदिन २०७९ चैत १५ गते न्यायाधीशद्वय महेशप्रसाद पुडासैनी र किरणकुमार पोखरेलको संयुक्त इजलासबाट परमादेश भएको थियो ।
आदेशमा भनिएको छ,‘रिट निवेदकहरुले स्तरवृद्धि सम्बन्धमा दिएको निवेदनमा स्थानीय तहको सेवा गठन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७९ को दफा ४ (४) कानुनी व्यवस्था समेतको आधारमा कानुनबमोजिम यथासक्य चाँडो निर्णय गरिदिनू ।’
तीन वर्षदेखि ड्रेस हवल्दारको तर तलब भने असइको खाइरहेका उनीहरुलाई फुली लगाउनबाट अहिले पनि वञ्चित गरिएको छ । अदालतले फुली लगाउन दिएको आदेश कार्यान्वयन नगरिएपछि यत्रो वर्षसम्म खुवाइएको माथिल्लो तहको तलब कसले व्यहोर्ने ? भन्ने अर्को कानुनी झमेला उत्पन्न हुने बताइन्छ ।
महानगरले पोहोर सेना र प्रहरीबाट आएकालाई भर्ना गर्ने क्रममा वैकल्पिक उम्मेदवारलाई करारमा भर्ना गरेर अहिले अन्तर्वार्ता लिई स्थायी गर्न लागेको छ । लोकसेवाले वैकल्पिक भनेका १२० जनालाई निर्वाचनअघि नै स्थायी गर्ने तयारी छ । यसो गर्नुको कारण खुलाउँदै स्रोत भन्छ, ‘बालेन र पाण्डेका निम्ति चुनाव खर्चको जोहो गरिएको होला । नगरसभाबाट उक्त निर्णय गराउनु नै कानुनतः गलत छ । लोकसेवा आयोगले अर्को निकायको लागि माग गरेका वैकल्पिक कर्मचारीलाई महानगरले सोझै यता ल्याएर स्थायी गर्न कदापी मिल्दैन । त्यसमा अरुलाई प्रतिस्पर्धाको अवसरबाट वञ्चित गराइएको छ ।’
आज डिएसपीमा फुली लगाउन लागिएकाहरु अधिकांशको शैक्षिक योग्यता १२ पास रहेको बताइन्छ । यसअघि सुरक्षाकर्मीहरुको हकमा नबोलेर बागमती प्रदेश सरकारले अरु कर्मचारीलाई बढुवा नगर्न सर्कुलर गरेको थियो । सोही आधारमा नगर प्रहरीलाई मात्रै हुनेगरी सुरक्षाकर्मीहरुको ऐन संशोधन गरेर बढुवा गरिएको हो । अरुलाई भने निजामती ऐन आकर्षित हुने अर्थ लगाएर बढुवाबाट बन्देज गरिएको अवस्था छ ।


