नवौं एनभीए च्याम्पियनसिप: पुरुषको सेमिफाइनलमा आर्मी र रुकुम पश्चिम तथा हेल्प नेपाल र पुलिस भिड्ने
काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ।
बिहीबार सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले खिल्जी युवा क्लबलाई ३-० को साेझाे सेटमा हराएसँगै पुरुषतर्फ अन्तिम चारमा पुग्ने सबै टोलीको टुंगो लागेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा आर्मीले खिल्जीलाई क्रमशः २५-१८, २५-१७ र २५-१५ को सहज सेटमा हराएको हो।
यसअघि तेस्रो क्वार्टरफाइनलमा रुकुम पश्चिम ट्रेनिङ सेन्टरले नेपाल एपीएफ क्लबलाई ३-१, दोस्रोमा नेपाल पुलिस क्लबले कोशी प्रदेश भलिबल संघलाई र पहिलोमा हेल्प नेपाल स्पोर्ट्स क्लबले बुढानिलकण्ठ भलिबल क्लबलाई समान ३-० को सहज सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरिसकेका छन्।
अब प्रतियोगितामा महिला र पुरुष दुवैतर्फको सेमिफाइनल खेल शुक्रबार हुनेछन् । दिउँसो २ बजे हुने पुरुषको पहिलो सेमिफाइनलमा हेल्प नेपाल र पुलिस तथा अपरान्ह ४ बजे शुरु हुने दोस्रो सेमिफाइनलमा आर्मी र रुकुम पश्चिम भिड्नेछन्।
त्यसअघि शुक्रबार बिहान १० बजे हुने महिलातर्फको पहिलो सेमिफाइनलमा समूह ए को विजेता न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र समूह बी को उपविजेता नेपाल एपीएफ क्लब भिड्नेछन्।
यस्तै, मध्यान्ह १२ बजे हुने महिलाको दोस्रो सेमिफाइनलमा समूह ए को उपविजेता त्रिभुवन आर्मी क्लबले समूह बी को विजेता नेपाल पुलिस क्लबसँग खेल्ने छ।
प्रतियोगितामा दुवैतर्फको फाइनल खेल शनिबार हुनेछन् । यस पटकको च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ गरि कुल २० टोली सहभागी थिए।
च्याम्पियनसिपबाट उत्कृष्ट ८ पुरुष र ६ महिला टोली छनोट गरिनेछ। ती टोलीले दशौं पीएम कप- एनभीए महिला तथा पुरुष भलिबल लिगमा सहभागिता जनाउने अवसर पाउने छन्।
प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फको विजेता टोलीले ट्रफीसहित समान नगद ५ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ र तेस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी, उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ।
विधागततर्फ उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ। ८० लाख अनुमानि बजेट रहेको प्रतियोगिता लिग कम नकआउट प्रणालीमा जारी छ।