एमसीसी संसदबाट पारित हुन्छ : प्रधानमन्त्री देउवा
कार्तिक ६,काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुने बताउनु भएको छ ।
बाढी र पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा बिहान भएको पत्रकार सम्मेलनमा एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानुन मातहत हुने भएकाले पारित हुने बताउनु भएको हो ।
उहाँले एमसीसीले नेपालको कानुन मान्छु भनेकाले संशोधनको कुनै अर्थ नभएको पनि दाबी गर्नु भएको छ । प्रधानमन्त्री देउवाले एमसीसीको बारेमा झुटा प्रचार भइरहेको पनि बताउनुभयो । उहाँले बाढी र पहिरोले पूर्व र पश्चिममा धेरै ठूलो क्षति पुर्याएकाले अल्पकालीन र दीर्घकालीन राहत र पुनर्निर्माणको योजनाहरु ल्याउने आश्वासन पनि दिनु भएको छ ।