सिन्धु क्षेत्र नम्बर २ माओवादीलाई दिए लौरो रोज्ने पूर्व सभापति लामाको चेतावनी
सिन्धुपाल्चोक । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति विकास लामाले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा माओवादी केन्द्रलाई टिकट दिए आफूले लौरो चुनाव चिन्ह लिएर उठ्ने घोषणा गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा आज स्ट्याटस लेख्दै लामाले गठबन्धनको भागमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ परे आफूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले स्ट्याटस लेखेको १० मिनेट पछि सामाजिक सञ्जालबाट पोस्ट हटाउनुभएको थियो । सिन्धुपाल्चोकमा गठबन्धन नबन्ने सङ्केत नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले दिँदै आइरहनुभएको थियो ।
योसँगै अब सिन्धुपाल्चोकमा गठबन्धनमा किचलो देखिएको छ । काँग्रेसको दुवै निर्वाचन क्षेत्र आफूले पाउनुपर्ने अडान छ । उता माओवादी केन्द्रको पनि पाए दुवै क्षेत्र नभए एक निर्वाचन क्षेत्र भए पनि आफूहरुले पाउनुपर्ने अडान छ । गठबन्धनमा भागबण्डा नमिले सिन्धुपाल्चोकका गठबन्धन दलमा आवद्ध नेताहरुको स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने मुड देखिन्छ ।