लगातार जितको लयमा लुम्बिनी, काठमान्डुको यात्रा समाप्त
२४ मंसिर, काठमाडौं : लुम्बिनी लायन्सले सुरुवाती खेल जितेपछि लगातार ३ खेलमा पराजित भएर कठिन अवस्थामा पुगेको थियो । त्यसपछि चुनौतीका बीच लुम्बिनीले शानदार पुनरागमन गर्दै बाँकी तीनवटै खेल जितेर प्लेअफमा स्थान बनाउन सफल भएको थियो ।
त्यो लयलाई लुम्बिनीले प्लेअफमा पनि कायमै राखेको छ र पहिलो क्वालिफायरमा काठमान्डु गोर्खाजलाई हराउन सफल भयो ।
लुम्बिनीले प्रतियोगिताको बीचमा विदेशी खेलाडीदेखि टिम कम्बिनेसनसम्म परिवर्तन गरेको थियो । त्यसले पनि लुम्बिनीको टोलीमा सकारात्मक परिवर्तन ल्याएको देखिएको छ ।
शेर मल्ललाई बलिङमा रुबेन ट्रम्पलमन र कप्तान रोहित पौडेलबाट पनि साथ मिलिरहेको छ । ब्याटिङमा पनि सबैबाट सानो-सानो योगदान भइरहँदा लुम्बिनी जितको लय कायमै राख्न सफल भइरहेको छ ।
यही लय लिएर लुम्बिनीले अब २४ घण्टाभित्रै अर्को महत्वपूर्ण खेल खेल्दै छ । कप्तान रोहित पौडेलले हरेक खेल नकआउट जसरी नै खेल्दै आएको र यस खेललाई पनि त्यसरी नै लिने बताएका छन् ।
‘भोलिको खेल दुवैलाई नकआउट हो, प्रेसर दुवैलाई बराबर हुन्छ । दुवै टोलीमा राम्रा खेलाडी छन् । जसले प्रेसर ह्यान्डल गर्न सक्छ त्यही टोलीले जित्न सक्छ’ उनले भने, ‘हाम्रा लागि ४ वटै खेल नकआउटजस्तै थिए, हारेपछि बाहिरिने खालको थियो। अब बाँकी खेल पनि त्यस्तै हुन्, भोलिको खेल महत्वपूर्ण हुनेछ।’
काठमान्डुको यात्रा समाप्त
पहिलोपटक प्लेअफमा पुगेको काठमान्डुको यात्रा भने इलिमिनेटरबाटै समाप्त भएको छ । लिग चरणमा पनि उतारचढावको यात्रासहित प्लेअफमा पुगेको काठमान्डुले जितको लयलाई निरन्तरता दिन सकेन ।
प्रशिक्षक मोन्टी देशाईले १४० रनसम्मको योगफल जितका लागि पर्याप्त हुन सक्ने बताए । ‘१३०-१४० सम्मको स्कोर पार स्कोर हुने अनुमान गरेका थियौं तर मिस गर्यौं हामीले । पावरप्ले राम्रो हुन सकेन । उनीहरूले राम्रो बलिङ गरे अनि हाम्रा ब्याटरहरूले साझेदारी बनाउन पनि सकेनन्’ मोन्टीले भने ।
विदेशी खेलाडीमा बढी निर्भर रहेको काठमान्डुका लागि महत्वपूर्ण खेलमा विदेशी खेलाडी नचल्दा नेपाली खेलाडीहरू पनि स्टेप अप गर्न सकेनन् । 