प्रदेश सांसद लिङ्थेपद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
२० मङ्सिर काठमाडौ : नेकपा एमालेको ११ औ महाधिवेशनमा कोशी प्रदेशका लोकप्रिय युवा नेता विदुरकुमार लिङ्थेपले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतकसमेत रहेका लिङ्थेप आगामी महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने चाहानामा छन् ।
अनेरास्ववियुको राजनीतिबाट पार्टी राजनीतिमा आएका लिङ्थेप संखुवासभाको प्रदेशसभा २ बाट निर्वाचित प्रदेश सांसद हुन् । प्रदेश सांसद हुनुअघि उनी २०७४ को स्थानीय तहको निर्वाचनमा मादी नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।
आफू केन्द्रीय सदस्यको दाबेदार रहेको बताउँदै उनले पार्टीको महाधिवेशनका लागि प्रतिनिधि छनौट भएका सबैलाई समाजिक सञ्जालमार्फत बधाई र शुभकामना दिएका छन् । उनले लेखेका छन्, ‘नेकपा (एमाले) ११ औ महाधिवेशनमा प्रतिनिधि छनौट हुनुभएकोमा सबै प्रतिनिधि कमरेडहरुमा हार्दिक बधाई र शुभकामना ब्यक्त गर्दछु । काठमाडौ आउनुहुने सबैजनालाई यात्रा सफलताको कामना छ ।’
उनले महाधिवेशनमा आफू केन्द्रीय सदस्यको इच्छुक भएको र आफू त्यसको तयारीका लागि काठमाडौँ आइसकेको बताएका छन् । लिङ्थेप पार्टी अध्यक्ष केपी ओली पक्षधर नेता हुन् ।