लगातार जितको लयमा लुम्बिनी, क्वालिफायरमा प्रवेश
२४ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा लगातार जितको लयलाई कायमै राख्दै लुम्बिनी लायन्स फाइनलको नजिक पुगेको छ । बुधबार भएको इलिमिनेटर खेलमा काठमान्डु गोर्खाजको दबदबा अनि चुनौती समाप्त पार्दै लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
यसअघि भएका दुवै भेटमा काठमान्डुले लुम्बिनीमाथि जित हासिल गरेको थियो । काठमान्डुले त्यो दबदबा कायमै राख्ने सोचका साथ मैदान उत्रँदा लुम्बिनीले भने बदला लिँदै काठमान्डुलाई उपाधि यात्राबाट बाहिर पठाएको हो ।
गत संस्करणको लिग चरण तथा यस संस्करणको लिग चरणमा भएका खेलमा काठमान्डुले नै बाजी मारेको थियो । यसपटक भने लुम्बिनी विजयी भयो । टस जितेर पहिले ब्याटिङ नै रोजेको काठमान्डुलाई १११ रनमै अलआउट गरेर लुम्बिनीले संयमित ढंगले लक्ष्य पूरा गर्यो ।
लुम्बिनीको जितमा पछिल्लो समय महत्वपूर्ण प्रदर्शन गर्दै आएका शेर मल्लले आजपनि शानदार प्रदर्शन गरे । यस्तोमा लुम्बिनीले लगातार चौथो जितका साथ अब फाइनलतर्फ थप एक कदम अघि बढाएको छ, तर फाइनल पुग्नका लागि अब एउटा महत्वपूर्ण खुड्किलो भने बाँकी नै छ ।
लुम्बिनीले अब फाइनल प्रवेशका लागि बिहीबार विराटनगर किङ्सको सामना गर्नेछ । विराटनगर मंगलबार सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि फाइनल प्रवेशका लागि दोस्रो मौका पाएको थियो ।
