श्री अन्तु पुग्न नागरिकलाई २ किलोमिटर हिँड्नुपर्ने, जेन–जी मन्त्रीको गाडी भने टुप्पामै
इलामको सूर्योदय नगरपालिका–स्थित श्री अन्तुमा सूर्योदय अवलोकन गर्न करिब २ किलोमिटर उकालो हिँड्नुपर्ने हुन्छ। डाँडामा पार्किङको अभावका कारण सवारीसाधन पूर्ण रूपमा निषेध गरिएको छ। उकालो हिँड्न नसक्नेका लागि घोडा चढ्ने सुविधा उपलब्ध छ। बिहान सूर्योदय हेर्न उक्त स्थानमा भीड लाग्ने गर्छ। इलाम पुग्ने देशभरका आन्तरिक पर्यटक प्रायः एक रात श्री अन्तुमा बसेर सूर्योदय अवलोकन गरेपछि मात्र फर्किन्छन्।
सूर्योदय हेर्नका लागि गत पुस ३ गते जेन–जी सरकारका कृषि मन्त्री मदन परियार बटालियनसहित श्री अन्तु पुगेका थिए। तर नागरिकहरू हिँडेरै उकालो चढिरहेका बेला मन्त्रीको गाडी भने लावालस्करसहित धुलो उडाउँदै टुप्पामै पुगेको थियो। दुई वटा प्रहरी गाडी तथा केही निजी गाडीको स्कर्टिङसहित सूर्योदय हेर्न टुप्पामा पुगेका मन्त्रीप्रति विरोध हुन थालेपछि मन्त्री टाप कसेका थिए ।
सूर्योदय हेर्न पुगेका अन्य व्यक्तिहरूले मन्त्रीको गाडी टुप्पासम्म पुग्न पाउने तर नागरिकका गाडी फेदमै रोक्नुपर्ने व्यवस्था अन्यायपूर्ण भएको भन्दै विरोध जनाएका थिए। उनीहरूका अनुसार मन्त्री हिँड्न नसक्ने अवस्थामा घोडाको समेत व्यवस्था उपलब्ध थियो, तर जेन–जी सरकारकै मन्त्रीले यसरी शक्तिको दुरुपयोग गर्नु उपयुक्त नभएको बताएका छन्।
मन्त्रीको गाडी देखेपछि विरोध जनाउने व्यक्तिहरूको प्रहरीले फोटो तथा भिडियो खिची प्रमाणसमेत संकलन गरेको बताइएको छ।