अष्ट्रेलियामा नेपाली विद्यार्थीहरूमा आत्महत्याको दर बढ्डो
काठमाडौं : उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरूमा आत्महत्याको दर गम्भीर रूपमा बढ्दै गएको छ। पछिल्लो एक महिनामै अष्ट्रेलियाको सिडनी शहरबाट मात्र १० जना नेपाली विद्यार्थीको शव नेपाल पठाइएको तथ्य सार्वजनिक भएपछि नेपाली समुदाय स्तब्ध बनेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको न्यु साउथ वेल्स संयोजक उषाकिरणका अनुसार ती सबै मृतक २३ देखि ३० वर्ष उमेर समूहका नेपाली विद्यार्थी हुन्। अध्ययनका लागि अष्ट्रेलिया पुगेका उनीहरू विभिन्न कारणले मानसिक तनावमा परेर आत्महत्याको बाटो रोज्न बाध्य भएको प्रारम्भिक विवरणले देखाएको छ।
उषाकिरणका अनुसार धेरै विद्यार्थीहरूले पढाइ अधुरो छाडेका, लागुऔषध दुर्व्यसनमा फसेका, जुवा–तासमा रमाउन थालेका र अत्यधिक महत्वाकांक्षाका कारण गहिरो निराशामा पुगेका घटनाहरू देखिएका छन्। विशेषगरी साथीभाइसँग घुलमिल गर्न नचाहने, एक्लोपनमा बस्ने प्रवृत्ति भएका विद्यार्थीहरू बढी जोखिममा परेको बताइएको छ।
उनका अनुसार कतिपय विद्यार्थी न पढ्ने, न काम गर्ने अवस्थासम्म पुगेर नेपालबाट निरन्तर पैसा मगाउने प्रवृत्तिमा लागेका छन्। पढाइ बिग्रँदै गएको, व्यवहारमा परिवर्तन आएको र आफ्नो कारण परिवार नेपालमै ऋणको चपेटामा परेको थाहा पाएपछि उनीहरू थप मानसिक दबाबमा पर्ने गरेका छन्।
पढाइ र काम दुवै ठप्प भएपछि धेरै विद्यार्थीको भिसा स्टाटससमेत अवैधानिक बन्ने गरेको छ। लामो समय कलेज नजाँदा विद्यार्थीहरू अध्ययनबाट बाहिरिने र अन्ततः रेल स्टेशन, सडक किनार वा अस्थायी आश्रयमा बस्न बाध्य हुने अवस्थासमेत देखिएको छ।
सम्बन्धित अध्ययन र समुदायका अनुभवअनुसार यस्ता अवस्थाले विद्यार्थीहरूलाई झन् खराब संगत, लागुऔषध र मानसिक असन्तुलनतर्फ धकेल्ने गरेको छ, जसको अन्तिम परिणाम आत्महत्या जस्तो अत्यन्तै दुखद घटनामा परिणत हुने गरेको छ।
पछिल्लो समय लगातार शव नेपाल फर्किन थालेपछि अष्ट्रेलियामा रहेका नेपाली समुदाय, अभिभावक र सरोकारवाला निकायहरू गम्भीर चिन्तामा परेका छन्। मानसिक स्वास्थ्य सहयोग, काउन्सेलिङ, सामुदायिक निगरानी र समयमै हस्तक्षेप आवश्यक रहेको आवाज तीव्र बन्दै गएको छ।