भन्सार छलेर ल्याएका १५ लाख रुपैयाँ बराबरका मोबाइलसहित बाराबाट एकजना पक्राउ
बारा। भारतबाट नेपालमा बिक्रीका लागि भन्सार छलेर ल्याएका १५ लाख रुपैयाँ बराबरका मोबाइलसहित एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
भन्सार छलेर ल्याइएका १५ लाख रुपैयाँ बराबरका विभिन्न कम्पनीका ५१ थान मोबाइल र चार्जरसहित प्रहरीले बारागढी गाउँपालिका–३ खोपवाका रुपन भन्ने रूपनारायण चौधरीलाई पक्राउ गरेको हो ।
बुधबार राति ८ बजेको समयमा प्रहरीले विशेष सूचनाको आधारमा चौधरीको घरमा छापा मार्दा विभिन्न कम्पनीका ५१ थान मोबाइल, ४८ थान चार्जर र ९ थान ब्याट्री बरामद गरेको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
प्रहरी प्रमुख काफ्लेकाअनुसार मोबाइलसहित पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय बारामा नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ ।