गभर्नर – गृहमन्त्री संवादपछि बैंक कर्मचारीमाथि कालोमोसो र जुत्ताको माला लगाउने दुई जना पक्राउ
“धितो लिलामीको विषयमा छलफल गर्न गएका कर्मचारीमाथि आक्रमण, सप्तकोशी एग्रो फर्मका सञ्चालक पक्राउ”
ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मंसिर २४ गते बैंकको सप्तरीस्थित रुपनी शाखामा कार्यरत कर्मचारीमाथि कालोमोसो दलेर जुत्ताको माला लगाई कुटपिट गर्ने व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेहरू उमाकान्त चौधरी र सञ्जिव चौधरी रहेका छन्। उनीहरू दुवै जना बैंकका ऋणीसमेत हुन्। पक्राउ परेका दुवै व्यक्ति सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालीका सञ्चालक रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पीडित बैंक कर्मचारीले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। उक्त फर्मको नाममा ज्योति विकास बैंकको रुपनी शाखाबाट २०७८ साल वैशाख २३ गते ४ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरिएको थियो। तर, कर्जा अनियमित भएपछि बैंकले धितो लिलामी गर्ने प्रक्रिया अघि बढाएको थियो।
धितो लिलामीको विषयमा छलफल गर्न भन्दै मंसिर २४ गते बैंकका कर्मचारीहरू फर्म पक्षसँग भेटघाट गर्न गएका बेला उनीहरूमाथि दुर्व्यवहार भएको थियो। घटनाका क्रममा कर्मचारीमाथि कालोमोसो दलेर जुत्ताको माला लगाइ कुटपिट गरिएको थियो।
यद्यपि सुरुमा उक्त घटनामा पीडित पक्षले दिएको जाहेरी बैंकले लिन नमानेको विषय सार्वजनिक भएपछि घटनाले थप चर्चा पाएको थियो। त्यसपछि विभिन्न बैंकर्स संघ–संस्थाहरूले उक्त घटनाको कडा भत्सर्ना गर्दै विज्ञप्ति जारी गरेका थिए।
बैंकरहरूको चर्को दबाबपछि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र गृहमन्त्री ओमप्रकाश अर्यालबीच यस विषयमा संवाद भएको थियो। गृहमन्त्रीसँगको छलफलमा गभर्नरले बैंक कर्मचारीमाथि दुर्व्यवहार गर्ने व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही गर्न आग्रह गरेपछि प्रहरी सक्रिय बनेको बताइएको छ।
हाल पक्राउ परेका दुवै जनामाथि अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।