नारायणगढ-मुग्लिन खण्डमा १३ वटा नयाँ पुल‚विस्फोटक पदार्थ अभावले दुईको निर्माण रोकियो



काठमाडौं। नारायणगढ-मुग्लिन सडक बनेर संचालनमा आएको चार वर्षपछि पुल निर्माणको काम पनि अन्तिम चरणमा छ। सडक निर्माण सकिएसँगै पुल बनाउन सुरू गरिए पनि कोरोना महामारी, वर्षायाममा काम गर्न समस्या, भौगोलिक कठिनाइ लगायत कारणले ढिलाइ भएको आयोजनाको ठहर छ।

नारायणगढ-मुग्लिन सडक आयोजना प्रमुख केदारप्रसाद नेपालका अनुसार १३ वटाको पुलको निर्माण कार्य पुरा भएको छ। चट्टान फोर्न विस्फोटक पदार्थ अभावले दुइटा पुलकाे काम भने रोकिएकाे छ।

‘तयार पुलहरुमा पनि एप्रोच रोड अर्थात पहुँच सडक भने जोड्न बाँकी नै छन्। अहिले त्यसको काम हुँदैछ,’ उनले भने, ‘तयार भएका पुलहरु अबको डेढ महिनाभित्र सबै संचालनमा ल्याउँछौं। जुन पुलको एप्रोच रोड तयार हुन्छ त्यो काम सकिनेबित्तिकै संचालनमा ल्याउदै जाने छौं।’

नारायणगढ-मुग्लिन सडकमा पर्ने १९ मध्ये चार वटा पुल बनेर संचालन भइसकेका छन्। उनका अनुसार मुग्लिनबाट पहिलो खहरे खोलामा र अर्को टुइन खोलामा भने पुल निर्माण बाँकी छन्। निर्माणका लागि चट्टान कटिङ गर्नुपर्ने अवस्था छ। जसका लागि विस्फोट गराउनुपर्ने देखिएकाे छ। जग निर्माणका लागि पहाड फोर्न मेसिनले कटिङ थाले पनि अपेक्षित गतिमा काम अघि बढेको छैन।

तुइन खोला र खहरे खोलामा नयाँ पुल बनाउन भौगोलिक रूपले सबैभन्दा कठिन रहेकाे उनले बताए। यी दुई पुलको दायाँ-बायाँका ठाडो भीरको कडा चट्टान फुटाल्न रक ब्रेकर मेसिनले प्रयास गरिएको थियो। अहिलेसम्म दुवै पुलका लागि पहाड कटिङ गर्ने काम ५० प्रतिशत मात्र सम्पन्न भएको नेपाल बताउँछन्।

उनका अनुसार दुई वटा पुलका लागि चट्टान फुटाउन १२ वटा मेसिनको प्रयोग गरिएको थियो। तुइन खोलाको माथिका पहाडमा मात्रै ७ वटा मेसिन प्रयोग भएको थियो।

विस्फोटक पदार्थ छिटै आइपुगेको खण्डमा चालु वर्षभित्रै दुवै पुल निर्माण पुरा हुने र सबै पुलहरु संचालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेकाे नारायणगढ-मुग्लिन सडक आयोजना प्रमुख नेपाल बताउँछन्।

‘त्यसरी मेसिनबाट पहाड कटिङ गर्ने काम कठिन र सम्भव नहुने देखिएपछि अब ब्लाष्टिङ गरेर कटिङ गर्ने योजना छ,’ उनले भने, ‘विस्फोटक पदार्थ नेपालमा पाइँदैन। निर्माण कम्पनीले भारतबाट विस्फोटक पदार्थ ल्याउन लागेका छन्। आएपछि सुरक्षा निगरानीमा काम हुनेछ। चट्टान फोरेपछि बल्ल जग हाल्ने काम सुरु हुन्छ।’

आगामी महिनामासम्म उक्त विस्फोटक पदार्थ आइपुग्ने अनुमान छ। त्यसैले बाँकी दुई पुल निर्माणमा केही समय लाग्ने नेपालले बताए।

विस्फोटक पदार्थ छिटै आइपुगेको खण्डमा चालु आर्थिक वर्षभित्रै दुवै पुल निर्माणको काम पुरा हुने र सबै पुलहरु संचालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेकाे नेपाल बताउँछन्। सबै पुलहरु संचालनमा आएपछि सडकको दुरी भने खासै कम हुने छैन। तर‚ डबल लेनका पुलले यस रुटमा सवारी जामको समस्या भने हटाउने उनी बताउँछन् ।

‘यसले पुराना र जीर्ण बनेका साँघुरा पुललाई विस्थापन मात्र गर्ने हो। केही ठाउँहरुमा घुमेर पुलमा जानुपर्ने पुरानो बाटोलाई नयाँ पुलले सोझो बनाएको छ,’ उनले भने, ‘साथै यसले २०० मिटरसम्म सडक छोट्टिएका छन्। उदाहरणका लागि अहिले संचालनमा आएको सेदी दोभानको पुलमा १५० मिटर सडक छोट्टिएको छ। यसले यात्रुलाई केही सहजता कायम गर्छ। पहिलाका सिंगल लेनका पुलहरु अहिले डबल लेनमा छन्। यसले जामको समस्या निकै कम गर्छ।

आयोजनाले पुल निर्माण दुई चरणमा अघि बढाएको थियो। पहिलो चरणमा मुग्लिनदेखि सिमलतालसम्म ७ वटा र दोस्रो चरणमा सिमलतालरदेखि जुगेडीसम्म ८ वटा पुल निर्माण भएको हो। पुल निर्माण थालिएको ४ वर्ष भइसकेको छ।

पुल निर्माण ठेक्का एक अर्ब २८ करोडको लागतमा निर्माण सम्पन्न गर्ने गरी २०७६ चैत १० मा अनक कन्सट्रक्सनले पाएको थियो। प्याकेज-१ का पुल ६७ करोड ९९ लाख ५९ हजार रुपैयाँमा र प्याकेज-२ का पुल ५९ करोड ५ लाख ५९ हजार रुपैयाँमा निर्माण गर्न ठेक्का सम्झौता भएको थियो। यो राजमार्गलाई एसियाली विकास बैंक (एडीबी) को सहयोगमा एसियाली मापदण्डअनुसार बनाइएको आयोजनाले जनाएकाे छ।

त्यही अनुसार पुललाई पनि डबल लेनमा विस्तार गरिएको हो। यो सडकमा यसअघिका पुल साँघुरा थिए। अहिले बनाइएका पुल ११ मिटर फराकिला छन्। सडक नौदेखि ११ मिटर फराकिलो छ।

सडकमा अहिले पनि पहिलेका पुरानो र जीर्ण अवस्थाका सिंगल लेन पुलहरुबाट गाडी चलेका छन्। नयाँ पुलहरु सञ्चालनमा आउन थालेपछि मात्रै यात्रा सहज हुनेछ। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवागमन गर्छन्।


केपी ओली कपको दोस्रो सेमिफाइनलमा केपी एफसी र मच्छिन्द्र खेल्दै

काठमाडौंमा जारी केपी ओली कप फुटबल च्याम्पियनसिपअन्तर्गत शनिबार दोस्रो सेमिफाइनल खेल हुँदैछ। फाइनल

संकटालाई हराउँदै आर्मी केपी ओली कप फुटबलको फाइलनमा प्रवेश

काठमाडौं  : संकटा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब जारी केपी ओली कप फुटबल

प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली र तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका

राष्ट्रिय परिचयपत्र विवाद : सर्वोच्चद्वारा रिट खारेज

काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र विवादसम्बन्धी रिट खारेज भएको फैसला सुनाएको छ। प्रधान न्यायाधीश

 सामाजिक सञ्जालमा हामी