साइबर अपराधमा दुर्गा प्रसाईं विरुद्ध कसरी हुन्छ अनुसन्धान ?
काठमाडौं । मेडिकल व्यवसायी एवं आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको दूरसञ्चार कम्पनीमा लगानी रहेको दाबी गर्दै फेसबुकमा सामग्री राखेपछि मङ्गलबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईंलाई उनकै निवासबाट पक्राउ गरेको हो । प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको छ ।
“दुर्गा प्रसाईंले प्रधानमन्त्री ज्यूले कम्बोडिया लगानी गरेको भ्रामक समाचार सम्प्रेषण गरेर सार्वजनिक नैतिकता, शिष्टाचारमा असर पर्नेगरी घृणा र द्वेष फैलाउने कार्य गरेको हुँदा साइबर अपराधमा अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गरेका हौं,” सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होवीन्द्र बोगटीले भने, “सीआईबीबाट मेडिकलसहित थप अनुसन्धानका लागि हाम्रो मातहतको साइबर ब्युरोमा पठाएका छौं ।”
सामाजिक सञ्जालका विभिन्न माध्यममार्फत देशका प्रधानमन्त्रीका विरुद्ध अपुष्ट जानकारी अपलोड गर्नु साइबर अपराध भएको प्रहरी उपरीक्षक बोगटीले बताए । पहिलो दृष्टिमै उनले साइबर अपराध गरेको देखिएपछि नियन्त्रणमा लिइएको बोगटीले सुनाए ।
अब उनीमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप लिई साइबर ब्युरोले साइबर अपराध कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाउनेछ । पहिलो चरणमा प्रसाईंमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर आकर्षित हुने बोगटीले बताए । अनुसन्धानका सिलसिलामा प्राप्त प्रमाणका आधामा अन्य कुन कुन कसुर आकर्षित हुन्छन् त्यसपछि मात्र थाहा हुने उनले सुनाए ।
६ असोजमा प्रसाईं साइबर अपराधकै कसुरमा पक्राउ परेका थिए । एक महिलाले प्रसाईंले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गरेको भन्दै उजुरी दिएपछि उनी पक्राउ परेका थिए । त्यसको नौ दिनपछि उनी एक लाख धरौटीमा छुटेका थिए ।
यसरी दुई पटक साइबर अपराधकै कसुरमा पक्राउ परेका प्रसाईंमाथि अब कस्तो कसुर आकर्षित हुन्छ भन्ने चासोको विषय बनेको छ । प्रहरी उपरीक्षक बोगटीका अनुसार एउटै कसुरमा कुनै व्यक्ति एक पटकभन्दा बढी पक्राउ परे त्यसमा ‘पटके अनुसन्धानमा’ कारबाही हुन्छ ।
“अब अनुसन्धान सम्पन्न भएपछि अदालतमा बुझाउने हाम्रो प्रक्रिया हुन्छ,” बोगटीले भने, “त्यसपछि अदालतले छोड्ने नछोड्ने, पुर्पक्षमा पठाउने, नपठाउने अथवा थुनामा राख्ने पठाउने वा धरौटीमा छोड्ने भन्ने निर्णय अदालतको विषय भयो ।”
प्रहरीले प्रसाईंलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । सो दफाको उपदफा (१) मा लेखिएको छ, “कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।”
त्यस्तै सोही दफाको उपदफा (२) मा पटक पटक उपदफा (१) अन्तर्गतको कसुर गरे कस्तो सजाय हुने उल्लेख गरिएको छ । सो उपदफामा लेखिएको छ, “कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसुर पटक पटक गरेमा त्यस्तो कसुर बापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेछ ।”