फिल्मी शैलीमा सुन लुटपाट
काठमाडौं : काभ्रेपलाञ्चोक घर भएकी सोनु लामा (नाम परिवर्तन) केही दिनअगाडि दुबईबाट नेपाल आइन्।
जब सुन लिएर उनी एक ट्याक्सी बुक गरी घर जाँदै थिइन्। उनलाई मोटरसाइकलमा आएका केही व्यक्तिले पछ्याए। उनी चढेको ट्याक्सीलाई रोकी आफूहरू सीआईबीको प्रहरी हौं भन्दै डर त्रासमा पारे। यसरी उनलाई प्रहरी भनेर तर्साउने तीन जनाको समूह थियो। नुवाकोट घर भएका २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोक घर भएकी अनिता भन्ने ३२ वर्षीया मिनसाङ लामा र काभ्रेको तेमाल घर भएका २२ वर्षीय लालबहादुर तामाङले उनलाई डर त्रासमा पारी उनीसँग भएको सुन लिएर फरार भए।
ठिमी वृत्तको गेटमा एकजना महिला प्रहरी ड्युटीमा थिइन्। रातिको समयमा पुगेका सुजनको समूहले त्यही पुरानो आईडी देखाएर ती महिला प्रहरीलाई समेत झुक्याएका थिए। ‘सीआईबीको प्रहरी हौं’ भन्दै सुन ल्याउने महिलालाई चेकजाँच गर्न त्यहाँँ कार्यरत एकजना महिला प्रहरीलाई आदेश दिएका थिए। चेकजाँचको क्रममा सुन ल्याउने महिलाको साथबाट तरल अवस्थाको सुन नियन्त्रणमा लिइएको थियो।
चेकजाँचपछि दुबईबाट आउने महिलालाई सीआईबीमा लैजान्छौं भनेर उनीहरूले ट्याक्सीमा लगेर बीचबाटोमा सुन लुटेर छाडेका थिए। प्रहरीले थाहा पाएर सुन बरामद गर्यो भनेर सुन ल्याउने महिला घटनाका विषयमा चुपचाप बसेकी थिइन्। ठिमी वृत्तको महिला प्रहरीले अर्को दिन घटनाका विषयमा जानकारी गराएपछि यो घटना बाहिरिएको थियो।
उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका प्रवक्ता काजीकुमार आचार्यले दुबईबाट अवैध सुन ल्याउने व्यक्तिको खोजी भइरहेको बताएका छन्।