नेसपाका ५ जना नेता माओवादीबाट समानुपातिक उम्मेदवार
नेसपाका ५ जना नेता माओवादीबाट समानुपातिक उम्मेदवार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको सिफारिसबाट नेपाल समाजवादी पार्टी(नेसपा)बाट ५ जनाको नाम समानुपातिकको बन्दसूचीमा राखेको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले हँसिया हथौडा चुनाव चिह्न लिएर लड्ने भएकाले भट्टराईको सिफारिसका ५ जनाको नाम समानुपतिक सूचीमा राखिएको जानकारी दिए ।
भट्टराईको सिफारिसमा गंगानारायण श्रेष्ठसहित पाँच जनाको नाम सिफारिस भएको हो । श्रेष्ठले पनि उक्त कुराको पुष्टि गरेका छन् ।
माओवादी महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरू वर्षमान पुन र गिरिराजमणि पोखरेल तथा गंगानारायण श्रेष्ठलगायतका नेताहरू समानुपातिक सूची बुझाउन निर्वाचन आयोग पुगेका छन् ।
आगामी निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने घोषणा गरिसकेका छन् ।