खेलाडीलाई ३ विषयको कक्षा
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी तथा प्रशिक्षकका लागि आइतबार ३ विषयको कक्षा सञ्चालन गरिएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको ओडिटोरियम हलमा भएको कार्यक्रममा सहभागीलाई एन्टी डोपिङ, स्पोर्ट्स इन्जुरी एन्ड प्रिभेन्सी र खेल पोषण सम्बन्धी जानकारी दिइएको थियो ।
डा. ज्ञानेन्द्रविक्रम शाहले एन्टी डोपिङ, डा. भद्र हमालले स्पोर्ट्स इन्जुरी एन्ड प्रिभेन्सी र सृष्टि श्रेष्ठले खेल पोषण सम्बन्धी कक्षा सञ्चालन गरेका थिए ।
जापानको आइची–नागोयामा हुने आसन्न २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसाथ राखेपले पारा तेक्वान्दोसहित विभिन्न ११ खेलको विशेष प्रशिक्षण सञ्चालन गरिरहेको छ । प्रशिक्षणमा १ सय २० खेलाडी तथा २० प्रशिक्षक समावेश रहेको राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठले जनाएका छन् ।